समाचार

बालिका हत्याका अभियुक्त भारतीय नागरिक जेल चलान



बाँके,  १२ मंसिर । बालिका हत्याका आरोपित भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका निम्ति भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।

बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेस्थित ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए । गएको कात्तिक १४ गते चौहानले डुडुवा गाउँपालिका–१, टेपरीस्थित रामकुमार बाहुनको खेतमा साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भनिने शिलावती चमारको मुख थुनेर हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।

उनका अनुसार चौहानले प्रहरीसमक्ष आफूले शिलावती चमारले खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् । शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।

चौहानले चमारको हत्यापश्चात् नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालीले हिर्काई खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए । चौहानले घटनालाई तोडमोड गर्न खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट करिब १.५ किलोमिटर टाढाबाट चौहानलाई पक्राउ गरेको थियो । पीडकविरुद्ध कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखिएको थियो ।

नाबालिगको मृत्यु शंकास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहोरा एसओसीओ अफिसर र तालिमप्राप्त कुकुरसहितको टोली लिएर घटनास्थलमा पुगेका थिए ।

चौहानविरुद्ध पीडित परिवारले जाहेरी नदिएका कारण प्रहरी आफैँले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए । बाँके प्रहरीका अनुसार शिलावतीको शव माटोमुनि गाडिएको अवस्थामा भेटिएको थियो । रासस