Banner News

रास्वपा दलको प्रतिवेदनः आफू रोष्ट्रममा गएर बोल्यौं, सँगैको साथीलाई उठ पनि भनेनौं



काठमाण्डौ,१२ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरीको जलेश्वरमा सोमबारदेखि जारी संयुक्त बैठकमा संसदीय दलका तर्फबाट संसदीय कामको प्रतिवेदन प्रस्तुत गरिएको छ। प्रमुख सचेतक सन्तोष परियारले मंगलबार प्रस्तुत गरेको संसदीय दलको प्रतिवेदनमा पार्टीका सांसदहरू आत्मकेन्द्रित र प्रचारमुखी भएको उल्लेख गरिएको हो।

‘प्रतिनिधिसभाको दोस्रो अधिवेशन जुन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय जीवनको पनि दोस्रो अधिवेशन हो त्यो समग्रमा पहिलो भन्दा बढ्ता गतिशिल र प्रभावकारी रह्यो। हाम्रो अभ्यास संसदीय त खारिँदै गयो तर फेरि पनि हामीबीचका कमिकमजोरीहरू यथावत् रहे। राजनीतिक पार्टी भनेकै सामूहिक प्रयत्न हो। तर हाम्रो संसदीय अभ्यास सामूहिक भन्दा धेरै वैयक्तिक हुन गयो। हामी आफू त दौडेर रोष्ट्रममा गएर बोलिरह्यौं, संगैको साथीलाई उठसमेत भनेनौं,’ प्रमुख सचेतक परियारले प्रतिवेदनमा लेखेका छन्।

पार्टीका सांसदहरूले दलीय व्यवस्थामा दलको भूमिका या त नबुझेको या बुझ्न नचाहेको पनि उल्लेख गरेका छन्।

‘जसका कारणले हाम्रा कतिपय विषयमा मतैक्यता कायम रहन सकेन। तथापि, समग्रमा संसदको यो अधिवेशन पनि रास्वपाका लागि पार्टी निर्माणको महत्वपूर्ण अभियान रह्यो। हाम्रो यथार्थ के हो भने अरु पार्टीहरू पहिले पार्टी बने र सदनमा गए। हामी पहिले सदनमा गयौं र पार्टी बनाउँदैछौं,’ उनको आत्ममूल्यांकन छ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा पनि मुद्दा उठानमा एकरुपता नभएको प्रतिवेदनमा उल्लेख छ।

‘सामूहिक भन्दा पनि व्यक्तिगत अग्रसरता बढी रहँदा केही मुद्दाहरूमा पार्टीको एउटै धारणा बन्न सकेन, जुन संसदीय राजनीतिमा विरलै हुने गर्छ,’ प्रतिवेदनमा भनिएको छ।
पहिलो अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय जीवनमा एउटा चोट लाग्न पुगेको प्रतिवेदनमा उल्लेख छ।

‘पार्टीका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद छानिएका ढाकाकुमार श्रेष्ठको आर्थिक कारोबारसम्बन्धी अडियो बाहिरिएपछि पार्टी पारदर्शिताको परीक्षामा उभिन पुग्यो। तर पार्टी सभापति माननीय रवि लामिछानेको पार्टी अनुशासन प्रतिको सार्वजनिक प्रतिबद्धता गरेका कारण श्रेष्ठलाई तत्काल कारवाही प्रक्रिया अगाडि बढाइयो र वैशाख १२ गते उहाँ निलम्बनमा परेको सदनलाई जानकारी गराइयो। त्यसपछि उक्त रिक्त रहेको समानुपातिक सांसद पदमा रास्वपा केन्द्रीय सदस्य विन्दवासिनी कंशकारलाई ल्याउने निर्णय गरियो,’ प्रतिवेदनमा उल्लेख छ।

राजनीतिक पार्टीहरूको घेराबन्दीका कारण सामान्य त्रुटि रहेको नागरिकता विषयलाई राजनीतिक रूपमा ठूलो मुद्दा बनाएर पार्टी सभापति र पार्टीमाथि आक्रमण गरिएको संसदीय दलको प्रतिवेदनमा उल्लेख छ।

जसका कारण तत्कालीन अवस्थामा पार्टीले सरकार छोड्नुपर्ने नैतिक बाध्यता आइलागेको बताइएको छ।

‘उच्च राजनीतिक संस्कार प्रस्तुत गर्दै २०७९ पुस ११ गते सभापति रवि लामिछानेले आफू बाहाल रहेको उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिनुभयो भने उहाँको सांसद पदसमेत खारेज हुन पुग्यो। पार्टीभित्र आइपरेको यो संकटको समयमा पार्टी एक ढिक्का भयो र उपनिर्वाचनमा केन्द्रीत भयो। राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा गइरहँदा पार्टीले अर्का उम्मेदवारका रुपमा प्रतिष्ठित अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेलाई पायो। डाक्टर स्वर्णिमको आगमनले राष्ट्रिय स्वतन्त्र पार्टी पुनः एकपटक चर्चाको विषय बन्यो र उक्त चर्चाले पार्टीलाई थप उचाईमा पुर्‍याउन सकरात्मक भूमिका खेल्यो,’ प्रतिवेदनमा लेखिएको छ।

संसदीय फाँटमा पार्टी पाँचवटा क्षेत्रमा सबल रहेको प्रमुख सचेतक परियारले औंल्याएका छन्। उनका अनुसार संसदमा पार्टीका सांसदहरूको प्रस्तुति अध्ययन अनुसन्धानमा आधारित रहेको छ। सांसदहरूले विषयवस्तुमाथिको गहिरो अध्ययन गर्ने गरेका छन्। सांसदहरूमा भाषाको पकड रहनुका साथै प्रविधिमैत्री पनि छन्।तथापि ६ वटा कमजोरी पनि उनले औंल्याएका छन्। जसमा सांसदहरूबीच सामूहिक कार्यको अभाव देखिएको छ। सांसदबीच अनावश्यक प्रतिस्पर्धा, व्यक्तिकेन्द्रीत प्रस्तुति, प्रचारमुखी चरित्र राजनीतिक बुझाइमा कमी र बैचारिक अस्पष्टता देखिएको उनले औंल्याएका छन्।
सेतोपाटीबाट