राजनीति

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै



काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन् ।

इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् ।

यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । 

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।