राजनीति

प्रधानमन्त्री प्रचण्ड दुबईमा



काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।

स्थानीय समयानुसार राति करिब १ः३० बजे उनी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । दुबई विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका निम्ति यूएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत त्यहाँस्थित दूतावासका अधिकारीहरूले स्वागत गरे ।

प्रधानमन्त्री प्रचण्डले आज यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासको अवलोकन र नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । आजै साँझ उनले नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।