राजनीति

प्रधानमन्त्रीद्वारा हिमाल र हिमाली जनताको रक्षा गर्न आह्वान



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हिमाल, हिमाली इकोसिस्टम र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्न विश्वका नेताहरूलाई आह्वान गरेका छन् । 

कोप सम्मेलनमा भाग लिने क्रममा युएईमा आयोजित ‘हिमाल : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’ विषयको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न संकटको सामना अरुभन्दा पहिले नै गरेको बताएका हुन् ।

उनले भने, ‘हो, यो सत्य हो कि वर्तमानमा जलवायु परिवर्तनले रंग, जात, जनताको सामाजिक हित र देशको आर्थिक अवस्थालाई पनि असमान असर पार्छ।  म नेपालका प्रधानमन्त्रीको हैसियतमा सबै अन्तर्राष्ट्रिय समुदायलाई ‘आफैँलाई बचाउन हाम्रा हिमाल बचाऊ,’ अभियानमा साथ दिन अपिल गर्न चाहन्छु । पहाडी समुदायको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्याबाट बाहिर ल्याउन पहाड र जलवायु परिवर्तन सम्बन्धी संवादको थालनी गर्न म सुझाव दिन्छु ।’

उनले कार्यक्रमको उद्देश्य हिमाल, हिमाली सभ्यता, हिमाली इकोसिस्टम र हिमालका बासिन्दाहरूको संरक्षण र प्रवर्द्धन गर्नु र हिमालमा जलवायु परिवर्तनले निम्त्याएका साझा चुनौतीहरूको सामना गर्न सहयोग र ऐक्यबद्धता हासिल गर्न खोजेको प्रष्ट पारे । उनले भने, ‘नेपालले हिमाल र त्यहाँ बसोबास गर्ने मानिसहरूका लागि उन्नत समाधानका लागि मार्ग प्रशस्त गर्न यो कार्यक्रम आयोजना गरिएको हो।’