राजनीति

मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली



अछाम, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन् । 

आज महाकाली-मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताएका हुन् । 

उनले भने, ‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा हामीले संसद्मा पनि भनिरहेका छौँ । सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साहित गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् । जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला सुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ । अहिलेको सरकारले हत्याराहरूलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको छ ।’

एमाले अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गरे ।