समाचार

घरभित्र आगो बाल्दा ग्यास सिलिन्डर पड्कियो, जलेर मृत्यु



सिन्धुपाल्चोक, १९ मंसिर । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ स्थित घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय ४५ वर्षीय लोकबहादुर नेपालीको मृत्यु भएको हो । सोमबार बेलुका नेपालीले आफ्नो एकतले कच्ची घरभित्र ताप्नका निम्ति आगो बालेका थिए । त्यसक्रममा आगलागी भएको हो । आगो सल्किएर एलपी ग्यास सिलिन्डर समेत पड्किएको प्रहरीले जनाएको छ ।

आगलागीबाट शरीर जल्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । घर पूर्ण रूपमा क्षति भएको छ । सो घटनामा अरू कोही कसैलाई केही नभएको र बेलुका करिब पौने ९ बजे आगलागी पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।