Banner News

नौ वर्षीय बालकको ओलीलाई चिठ्ठी : रोजगारीका लागि विदेश जानु नपरोस्



काठमाडौँ, १९ मंसिर। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ वर्षीय बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् । अध्यक्ष ओलीले ती बालकले आफूलाई दिएको चिठ्ठी फेसबुकमा राख्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताएका छन् ।

‘मंगलबार हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए’, ओलीले लेखेका छन्, ‘मैले सोचेँ – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ ।’