राजनीति

५ जना कर्मचारीलाई सचिव पदमा बढुवा



मकवानपुर, २० मंसिर । बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार ५ जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको बुधवार बसेको बैठकले उक्त ऐन अनुसार ५ जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो । बैठकले स्वास्थ्य तर्फको ४ र शिक्षा सेवातर्फको एक गरी ५ जनालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो ।  प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार ११ औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए । उनका अनुसार यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरूलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो । अदालतले उक्त मुद्दाका सम्बन्धी रिट खारेज गर्ने निर्णयसँगै प्रक्रिया अघि बढाइएको हो ।