Banner News

एनसेल प्रकरण: प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने समितिको निर्णय



काठमाडौँ, २२ मंसिर । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले प्रधामन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका थिए । प्रशासनिक र राजनीतिक मिलेमतोबिना एनसेल काण्ड नहुने भएकाले प्रधानमन्त्रीसँग समितिले सोधपुछ गर्नुपर्ने उनको भनाइ थियो । यसैगरी सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताए । एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको थियो । सांसद सर्वेन्द्रनाथ शुक्लाले एनसेल प्रकरणको छानबिन गम्भीर रूपमा हुनुपर्ने बताए। उनले सरकारले बनाएको समितिले कति गम्भीर भएर छानबिन गर्छ वा टालटुले हुने हो त्यो हाम्रो समितिले नजिकवाट नियाल्नुपर्ने बताए।

उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल हुनेछ । यस्तै मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको छ । उक्त बैठकमा प्रधानसेनापति प्रभुराम शर्मासँग फास्ट ट्रयाकबारे छलफल हुने खतिवडाको भनाइ छ । यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने पनि समितिको भनाइ छ ।