समाचार

हतियार चोरेको आरोपमा ३ जना पक्राउ



काठमाडौँ, २२ मंसिर । काठमाडौंमा इजाजत प्राप्‍त हतियार नै चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

सुनसरी घर काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने ३६ वर्षीय दिलिप माझी, काठमाडौं ताहाचल बस्ने २१ वर्षीय कुशल मल्लिक र काभ्रे घर भई ललितपुरको इमाडोल बस्ने २७ वर्षीया काजलकुमारी भुजेल पक्राउ परेका छन्। उनीहरूले मंसिर १६ गते ताहाचल बस्ने ७४ वर्षीया पुष्पा जोशीको घरबाट हतियारहरू चोरी गरेको आरोप छ। इजाजत पत्रसहित दुई नाले ४१० बोरको बन्दुक एउटा, २२ बोरको राइफल एउटा गरी दुई वटा बन्दुक डाँका-चोरी भएको थियो।

यसरी अज्ञात समूहले चोरी गरेर लगेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले चोरीमा संलग्नहरूलाई बिहीबार पक्राउ गरेको हो। प्रहरी वृत्त कालिमाटीले तीन जनालाई हतियार चोरी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

चोरी गरिएका बन्दुक, राइफल, खुँडा, खुकुरी लगायत हतियारहरू बरामद भएको थियो। प्रहरीले उनीहरूमाथि डाँका चोरी तथा हातहतियार खरखजना सम्बन्धी कसूर मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ।