मनोरञ्जन

इण्डियन आइडलमा दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल



काठमाडौँ, २ पौष । नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् ।

पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए ।

मेनुकाले आफैंले हार्मोनियम बजाएर गीत गाइन् । नयाँ पुस्तालाई भजनजस्तो शास्त्रीय संगीतसँग जोड्न यो एपिसोड समर्पित गरिएको जज तथा गायिका श्रेया घोषालले बताएकी छन् ।

मेनुकाको यो प्रस्तुतिमा यसअघिजस्तै जज र अतिथिले स्ट्यान्डिङ ओभेसन दिएका थिए । जज कुमार सानुले मोहम्मद रफीको गीतलाई आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे । श्रेयाले चाहिं मेनुकाको उक्त प्रस्तुति हिटभन्दा माथिल्लो स्तरको रहेको बताइन् ।