समाचार

बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि …




काठमाडौँ, ५ पौष । पोखराबाट काठमाडौँ उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ । अहिले बिहान ९ बजे पोखराबाट काठमाडौँका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो ।

इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको स्रोतले जानकारी दियो । ‘खुट्टाले लागेर ढोका खुलेको’ भन्ने जवाफ आएको छ । उडान नम्बर यूफोर६५२ कलसाइन रहेको उक्त जहाज पोखराबाट काठमाडौँ उड्ने तयारीमा थियो ।

ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ । बुध्द एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार उडान नं ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् ।