राजनीति

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’



काठमाडौँ, ६ पौष । परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन् । 

ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडोभाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिवस कार्यक्रममा उनले नेपालका महत्वपूर्ण शक्तिका रुपमा विकट भौगोलिक अवस्था, पुर्खाको वीरता र कूटनीतिक क्षमता तथा बहुसांस्कृतिक विविधता रहेको स्पष्ट गरे । 

संयुक्त राष्ट्रसंघका लागि नेपाली पूर्वराजदूत आचार्यले भने, “ठाडोभाका गण्डकी प्रदेशको मात्र नभई राष्ट्रको नीति हो, यसले ऋग्वेदको झल्को दिन्छ । यस्ता सम्पत्तिको संरक्षणमा राज्यले ध्यान पुर्याउनुपर्छ, सातै प्रदेशका लोक संस्कृतिको विकासका लागि संग्रहालय खोल्नुपर्छ ।” सामाजिक अभियन्ता एवं संस्कृतिप्रेमी लालबहादुर भुजेलले गीतसंगीत तथा भाषा, सहित्य र कलाका संरक्षणमा सबै जातजाति र समुदायले विशेष ध्यान पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए । पूर्वप्रशासक पृथ्वी अधिकारीले संस्कार र सांस्कृतिक देशको महत्वपूर्ण शक्ति र पहिचान रहेको धारणा राखे । 

गायिका तामाङले गण्डकी क्षेत्रको महत्वपूर्ण पहिचानका रुपमा रहेका ठाडोभाकासहित २० लोकभाकामा गीत सिर्जना र मिठास गायन प्रस्तुत गर्ने क्षमता रहेको कार्यक्रममा सहभागी अन्य गीत र संगीत क्षेत्रका सर्जकले बताए । त्यस्ता मौलिक गीत गण्डकी प्रदेशका गाउँघरमा मेलापात, दाइँ, पर्व, जात्रा र विविध कार्यक्रममा गाइने गरिन्छ । उनले आफ्ना छोरा हालका उपरथी आशबहादुर तामाङसँग ७२ वर्षको उमेरमा राष्ट्रप्रेम झल्काउने ठाडोभाकामा म्युजिक भिडियोमा समेत गायन प्रस्तुत गरेकी छन् । लोप हुन लागेका लोकगीत तथा लोक भजनको सँगालो ‘धन’मा उनले त्यस उमेरमा पहिलोपटक रेकर्ड गराएकी हुन् । रासस