Banner News

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन



काठमाडौँ, ६ पौष । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका निम्ति महत्त्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येको एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गएको असोज अन्तिम साता चार्ज गरिएको थियो ।

उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत अधिकारीको उपस्थिति थियो । 

पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका निम्ति जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन पावर ट्रान्सफर्मर छन् । 

इनरुवा–ढल्केबर ४०० केभी प्रसारणलाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् प्रवाह हुनेछ । इनरुवा–ढल्केबर प्रसारणलाइनको अहिले तार तान्ने काम भइरहेको छ । रासस