राजनीति

सुदन किराँतीको चटके शैली जनताले बुझिसके : पूर्वमन्त्री बस्नेत



भक्तपुर, ७ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली राजनीतिमा एमाले महान भएको उल्लेख गर्दै अन्य पार्टी मुहानबाट अस्थित्व राखेका पानीको जस्तै भएको दावी गर्नुभयो ।

राष्ट्रिय युवा संघ नेपाल अन्तर प्रदेश जिल्ला वशेष प्रदेश कमिटीको अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिलाई मुलुकको समृद्धिमा डोर्याउन सक्ने क्षमता एमाले बाहेकका पार्टीसँग नभएको उल्लेख गर्नुभयो । ‘एमाले राजनीतिक मुहान हो भने अरु पार्टी मुहानबाट उत्पादित पानीमात्र हुन, मुहान भएमात्र पानीको अस्थित्व रहन्छ’, उहाँले भन्नुभयो, ‘नेपाली राजनीति एमालेको वरिपरि घुमिरहेको छ । विकास र समृद्धिको नेतृत्व एमाले बाहेकले गर्नै सक्दैन । पछिल्लो समयको गठबन्धन सरकारबाट जनता आजित भइसकेका छन् । एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई सम्झि रहेका छन् । यो सरकार त जनताको नजरबाट ढलिसकेको छ ।’

सुदन किराँतीको चटके शैली रहेको उल्लेख गर्दै उहाँले नेपाल वायुसेवा निगमलगायतका संस्थाहरुमा मन्त्री किराँतीले जनतालाई भ्रममा पारेको भन्दै आक्रोस जनाउनुभयो । ‘जंगलको कौवाले मयुरको पुच्छर टाँसेर मयुर भन्दै हिडेछ रे । अलिपर पुगेपछि दिशा देखेछ रे । त्यसपछि कौवा मयुरको प्वाख फालेर त्यही दिशामा केन्द्रीत भएछ रे । त्यसैले अहिले सुदन किराँतीको मयुर बन्ने कौवाको चाल सवैले बुझिसक्नुभएको छ ।’ धर्मिक सद्भाव, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा मुलुकको समृद्धिको पक्षमा एमाले अडिक ढंगले हिडिरहेको उल्लेख गर्दै संघका इन्चर्जसमेत रहनुभएका नेता बस्नेतले एमालेको प्रस्तुति खरो भएता पनि विचार र दृष्टिकोणमा जहिले पनि सुन्दर बाटोमा रहेको प्रष्ट पार्नुभयो । चटके शैलीका नेता तथा मन्त्रीहरुको विचार र दृष्टिकोण नै कुरुप रहेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘तीनका विचारहरु कुरुप छन्, मुलुकको समृद्धिको विरुद्धमा छन्, मुलुकमा जातीय तथा धार्मिक सद्भाव भड्काउने पक्षमा छन् । पहिचानको नाममा द्वान्द्व मच्चाउनेमा केन्द्रीत छन् । यसको नेतृत्व प्रधानमन्त्री प्रचण्ड र उनका मन्त्री सुदन किराँतीहरु हुन भन्ने आज फेरी पुष्टि भएको छ ।’

वै धर्म संस्कृतिलाई सम्मान गर्नुपर्ने औंल्याउँदै उहाँले मध्यपहाडी यात्राको क्रममा समेत उक्त कुरालाई एमालेले उच्च प्राथमिकता दिएको बताउनुभयो । ‘त्यसैले यो दुधको दुध, पानीको पानी छुट्टीनेछ । हामीले मिसन ८४ भनेका छौं । मिसन नेक्स्ट इलेक्सन भनेका छौं । उक्त क्रममा जनतालाई यी यावत कुराहरु बुझाउने क्रममा छौं । यो सँगै नेपाली राजनीतिको नेकपा एमाले दुध हो भने अन्य दलहरु पानी हुन् भन्ने कुरा आगामी निर्वाचनमा फेरी हामी पुष्टि गर्नेछौं ।’

सरकार छुचुन्द्रो जस्तोमात्र भएको उल्लेख गर्दै उहाँले विषमात्र छोड्दै हिड्ने छुचुन्द्रोलाई सडकमा ल्याउने नेतृत्व युवा संघले गर्नुपर्नेमा विशेष जोड दिनुभयो । संघका नेता तथा कार्यकर्ता वौद्धिक र जुझारु संगठन भएकाले आफ्नो पहिचनालाई स्थापीत गर्दै थप रचनात्मक कार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । संगठनको राम्रो कार्यलार्य अगाडी बढ्नुपर्नेमा जोड दिँदै उहाँले नराम्रा कुराहरु गर्ने छुट संगठनमा नभएको स्पष्ट पार्नुभयो । सम्पूर्ण युवाहरुलाई नेतृत्वमा ल्याउने जिम्मा संघको रहेको उल्लेख गर्दै उहाँले जनतालाई परेको प्राकृतिक विपत्तीलगायतका आफ्नै जस्तो गरी पुनःस्थापना, राहत वितरण तथा अस्थायी वसोवास स्थापना गरेकोमा संघको भूमिका उत्कृष्ट रहेको बताउनुभयो ।