मनोरञ्जन

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असारमा रिलिज हुने



काठमाडौँ, ८ पौष । अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ असार २८ गते सार्वजनिक प्रदर्शनमा आउने भएको छ । 

निर्माण युनिटले वितरक रोहित कट्टेलसँगको छलफलपछि प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन मितिसँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक भएको छ ।

अनिल बुढामगरको निर्देशन रहने फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापामगर, खबपु पुनको अभिनय रहनेछ । माघ तेस्रो साताबाट छायाङ्कन सुरु हुन लागेको फिल्म पूर्वी रुकुममा खिचिनेछ । फिल्ममा निर्देशक मगरको अलवा विनोद खतिवडा र सुवास कोइरालाको लेखन रहेको छ ।