Banner News

मैले लिएको भनिएको १ करोड ऋण तिर्न पाऊँ : सभापति लामिछाने



काठमाडौँ, ९ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

आज नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको दाबी गरे । आफूले १ करोड ऋण लिएको प्रमाण चाहिने उनको भनाइ छ । 

उनले भने, ‘मैले लोन लिएको प्रमाण चाहियो । मैले लिएको भनिएको ऋण १ करोड तिर्न पाउनुपर्‍यो’, ‘जुन सहकारीमा म सदस्य छैन । लोन मैले लिएको भन्ने छ तिर्न पाउँ ।’

उनले आफूले ग्यालेक्सी टिभी छाडेको एक वर्ष भइसकेको र त्यहाँ हुँदा टिभीसँग निश्चित सम्झौता गरेर काम गरेको  बताए । ‘उहाँहरूको विभिन्न व्यवसायसँगै ग्यालेक्सी पनि एक व्यवसाय हो । मेरो सहकार्य ग्यालेक्सीसँग भएको हो । त्यसका लागि मैले सम्झौता गरेको छु’, उनले भने, ‘मेरो उहाँहरुसँग अन्य आबद्धता छैन । मैले टिभी छाडेको डेढ वर्षपछि सहकारी धरासयी भयो । टेलिभिजनलाई त्यसको असर पर्‍यो । टिभी छाड्दा मैले सबै बुझाएर निस्केको हो ।’