राजनीति

दक्ष जनशक्ति देशबाहिर हुँदा क्षति भइरहेको छः मन्त्री साउद



काठमाडौँ, ९ पौष । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । 

आज उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।

उनले भने, ‘धेरै पढे, लेखेका मान्छेहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री उनीहरू पनि बाहिर गइरहेका छन् । र कामदार वर्ग पनि बाहिर गइरहेका छन् । यो अत्यन्त ठुलो लगानी भएको बुद्धिजीवी वर्ग बाहिर जान्छ त्यसलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । अर्को ठाउँको भिसा पाएर अर्को देशमा काम ग¥यो भने हाम्रो लगानीमा त्यो मेनपावर अर्काले प्रयोग गर्न पायो । त्यो मेनपावर यदी नेपालमै राख्न सकेको भए नेपालमै प्रयोग गर्न सकेको भए डाक्टरको हकमा स्वास्थ्यको क्षेत्रमा बिरामीहरुले उपचार पाउँथे । इन्जिनियरको हकमा विभिन्न संरचनाका काम हुन्थेँ । अर्थशास्त्रीको हकमा आर्थिक गतिविधिलाई त्यसले बढाउथ्यो । बिजनेश सेक्टरको मेनपावर भए त्यसले व्यापारिक सम्भावनाहरुमा अगाडी बढ्थ्यो । तर हाम्रो स्कील्ड र क्षमता बनेको, दिएको, भएको शक्ति बाहिर जाँदाखेरी हाम्रो मुलुकलाई क्षति भइरहेको छ । हाम्रो देशमा युवाको जनसङ्ख्या धेरै छ । कुनैपनि देशको समग्र जनसंख्याभित्र युवाहरूको हिस्सा सबभन्दा ज्यादा हुन्छ । कुनैपनि देशले बिकास गर्ने त्यही बेला हो । आर्थिक विकासमा त्यही बेला देशले फड्को मार्न सक्नुपर्छ । आर्थिक विकासको सन्दर्भमा पनि देशले फड्को मार्नुपर्ने बेला यही हो । यसपछि तपाई हामी बुढा हुँदै गइसकेपछि फेरि बसि खाने बेला आउँछ । जनसङ्ख्या बसि खाने भएपछि आर्थिक गतिविधि कम हुन्छ । विकास कम हुन्छ । त्यसकारण अहिले काम गर्ने बेला हो भन्नेतिर ध्यानाकर्षण गर्न चाहान्छु ।’