समाचार

महिलालाई पोलमा बाँधेर कुटपिट, ७ जना पक्राउ



काठमाडौँ, १० पौष । सिन्धुली सदरमुकामस्थित ढकाल गाउँमा एक महिलालाई गाउँलेहरूले पोलमा बाँधेर कुटपिट गरेका छन् । कमलामाई नगरपालिका वडा नम्बर–४ घर भएकी शारदा थापालाई गाउँलेहरूले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न आरोपमा शारदाका पति सन्तोष थापा सहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न स्थानीय र सन्तोषको बिचमा लेनदेन विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रवार सिन्धुली बजारबाट गाउँलेहरूले आफूलाई नियन्त्रणमा लिएर गएको सन्तोषले प्रहरीलाई बताएका छन् । तर, शारदासँग गाउँलेहरूको विवाद देखिएको छैन ।

प्रहरीले आइतबार दिउँसो ४ बजे घटनाबारे जानकारी पाएको थियो । खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेर महिलाको उद्धार गरेका हुन् । पोलमा बाँधेर स्थानीयले लाठी, हात र खुट्टाले निर्घात कुटपिट गरेको आरोप छ ।