राजनीति

२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा



काठमाडौँ, १० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले सरकारको अबको लक्ष्य उत्पादन र रोजगारी वृद्धि रहेको बताएका छन् । उनले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिने प्रतिबद्धता समेत व्यक्त गरे ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताए ।

‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ,’ उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार ब्याजदर एकल अंकमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ। यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ ।’

भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित बनेको र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए ।

मेलम्चीबाट नियमित पानी ल्याउन सरकार लागिपरेको बताएका छन् । मंगलबार देशवासीका नाममा  सम्बोधन गर्दै उनले २८ दिनभित्र मेलम्चीको पानी ल्याउन सरकारले कार्ययोजना बनाएर काम गरेको बताए । साथै मेलम्चीको दोस्रो चरणको कामपनि थालिने बताए ।