समाचार

प्रिन्सिपलको हत्या प्रकरण : भारतीय नागरिकलाई गोली हानेर पक्राउ



जनकपुरधाम, ११ पौष । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

बारा प्रहरीका अनुसार बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको हो । पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए ।