Banner News

चुनावको बेलामा आउने मौसमी पार्टीहरु हराए: महेश बस्नेत



भक्तपुर, ११ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ७ घ्याम्पेडाँडामा आज खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभएको छ ।

महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङमा डिपबोरिङ गर्ने र घ्याम्पेडाँडामा तीन लाख लिटरको खानेपानी ट्याङ्की निर्माण गर्न शुभारम्भ गरिएको हो । उक्त ट्याङ्की निर्माणको लागि वागमती प्रदेश खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भक्तपुरबाट विनियोजित ५० लाखको बजेट निर्माण कार्यको शुभारम्भ गरिएको हो । उक्त योजनाको लागि गठबन्धन सरकार तथा गठबन्धनका दलका नेताले बजेट कटौती गर्न लविङ गरेका कारण निर्माण कार्यमा ढिलाई भएको बताइएको छ । निर्वाचनको समयमा भक्तपुरका कांग्रेस, माओवादीलगायतका गठबन्धनका दलहरुले बजेट कटौती गर्न डेलिकेशन जाने, झगडा गर्ने कार्य गरी आयोजना बनाउन असफल बनाउने कार्य गरेका थिए । उक्त कार्यको बाबजुत पनि अहिले पुनः उक्त ट्याङ्कीको निर्माण कार्यलाई नेता बस्नेतले शुभारम्भ गर्नु भएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेको पहल तथा सहयोगमा घ्याम्पेडाँडाको पहिचान नै परिएको दावी गर्नुभयो । हिजो अविकसित ठाउँको रुपमा परिचय स्थापित गरेको उक्त ठाउँले अहिले समृद्धिको पहिचान बनाएको उल्लेख गर्दै उहाँले खानेपानी आयोजना लगायका विकासका कार्यहरुमा राजनीति भएका कारण निर्वाचनको समयमा आयोजनालाई रोक्न लागि परेको स्मरण गर्नुभयो । जिल्लाका जस्तोसुकै आरोह तथा अवरोहहरुलाई अवसरको रुपमा रुपान्तरण गरी जनता केन्द्रीत कार्यहरु गर्दै जाने उहाँले विश्वास दिलाउनुभयो ।

‘पछिल्लो समयका पुस्ताले गरेको सहयोगका कारण घ्याम्पेडाँडाको पहिचान फेरिएको छ । हिजो अविकसित ठाउँको रुपमा परिचय बनाएको घ्याम्पेडाँडाले आज समृद्धिको पहिचान बोकेको छ । पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । यहाँका जनताहरु व्यवसायतिर आकर्षित हुनुभएको छ । खानेपानीको अभाव भएको ठाउँमा अहिले अझ बढि खानेपानीको माग हुन थालेको छ’, उहाँले भन्नुभयो, ‘योजना सफल बनाउन हैन, असफल बनाउन डेलिकेशन जाने, झगडा गर्ने लगायतका कार्यहरु भए । यतिसम्म कि खुकुरी र लाठीसम्म प्रयोग हुने स्थिती बन्यो । हामीले बढो सम्यमताका साथ समस्या समाधान गर्यौ । आज मलाई लाग्छ, चुनाव सकियो, अहिले परिस्थिती पनि साम्य भएको छ । चुनावको बेलामा आउने मौसमी पार्टीहरु हराएका छन् । जनताको पक्षमा काम गर्ने सदावहार पार्टी आइरहेको छ । त्यसैले मौसमी पार्टी र मौसमी भाइरल ज्वरो उस्तै हुनु । जनता सचेत हुनुपर्छ । चुनाव जितेको एक वर्ष भयो जित्ने पार्टी कहाँ छ ? हामी त जनताको दुख सुख, जनताको सेवा तथा विकास र समृद्धिको कार्यमा नै खटिरहेका छौं ।’

गठबन्धन सरकार तथा भक्तपुरका मौसमी पार्टीका कारण बालकोट रानीकोट सडक निर्माणले पूर्णता पाउन नसकेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले ढिलासुस्ती गर्ने तथा काम गर्ने शैली र क्षमता नै नभएको भन्दै आक्रोस जनाउनुभयो । घ्याम्पेडाँडा रानीकोट, नैचाल, अनन्तलिङ्गेश्वर लगायतका क्षेत्रहरुमा मास्टर प्लान अनुसार काम भइरहेको स्मरण गर्दै उहाँले भक्तपुरका विभिन्न क्षेत्रहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मोडल प्रस्तुत गर्नुभयो । भक्तपुरको विकासमा आफ्नो भूमिका जहिले पनि जनताको पक्षमा रहने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भूमिका कमजोर भए होला तर भूमिका विहिन भएर बस्दैनौं । चुनाव हार्यौ होला तथा र जनताको कामको लागि हार खाएर कहिले पनि बस्दैनौं । हाम्रो संकल्पहरु पुरा गर्न दृढताका साथ अगाडी बढ्छौं ।’

कार्यक्रममा वागमती प्रदेशका सांसद किरण थापा, सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेव थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखलगायतले शुभकामना मन्तव्यको साथमा आयोजनालाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।