राजनीति

व्यवस्थाविरूद्ध प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् : अध्यक्ष नेपाल



काठमाडौँ, ११ पौष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेको बताएका छन् ।

बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले व्यवस्थाविरूद्ध प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको बताएका हुन् । उनले मोर्चाको बैठक समाप्त नभइसकेको र त्यसमा मिहीन छलफल हुने पनि बताए ।

‘संविधानमाथि आक्रमण हुन थाल्यो। हामी फेरि गम्भीर बन्नुपर्छ। अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन्। देश-विदेशका शक्तिहरूले नेपालभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन् ।आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बसेको थियो, त्यो बैठक समाजवादी मोर्चाको संयोजक भएको नाताले हामीले बोलाएका थियौं । त्यहाँ गम्भीर छलफल चलिरहेको छ,’ उनले भने, ‘बैठकमा नेपालको राजनीति कुन अवस्थाबाट गुज्रँदैछ । अहिले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रतामाथि आघात पुग्ने काम भएको छ कि छैन? देशी–विदेशी शक्तिहरूको भूमिका छ? देशका प्रतिगामी, प्रतिक्रियावादी शक्तिहरूले के गरिरहेका छन्? यी सबै कुराहरूको बारेमा हामीहरू व्यापक छलफल गरिरहेका छौं। कसरी हुन्छ नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउनेमा हामी सबै सहमत छौं ।’