Banner News

नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक सम्पन्न



काठमाडौँ, १९ पौष ।  नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ ।

आजबिहीबार काठमाडौँको होटल याक एण्ड यतीमा  भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गर्नुभएको थियो । बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी  दिनुभयो ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको छ ।

नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूताबासले अब एउटै परियोजनामा २० करोडसम्म साझै लगानी गर्नसक्ने छ ।

उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन गरेका छन् ।

संयुक्त आयोगको आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । कनेक्टिभिटी, व्यापार, जलस्रोत, उर्जा व्यापारका विषयमा छलफल भएको उनले बताए ।