समाचार

आजको मौसम



काठमाडौँ, २३ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । हुस्सु र कुहिरो तथा हिमपातका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

तराई क्षेत्रमा हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।