Banner News

राष्ट्रिय सभाको छवि धमिल्याउँदै दलहरू



काठमाडौँ, २४ पौष ।  राष्ट्रिय सभाका लागि २० सिटको भागबन्डा हुँदा गठबन्धनमा सबैभन्दा ठूलो हिस्सा (१० सिट) कांग्रेसले पाएको छ । अवसर नपाएका र क्षमतावानलाई भन्दा आफ्ना गुटका नेतालाई छानेको भन्दै शेखर कोइराला पक्षीय नेताहरूले विरोध गरेका छन् । राष्ट्रिय जीवनमा ख्याति प्राप्त, लोकतान्त्रिक पक्षधरको प्रतिनिधित्व नभएकोमा पनि उनीहरूको आपत्ति छ । ०४८ देखि राजनीति शक्तिकेन्द्रमा रहेका कृष्णप्रसाद सिटौलादेखि तराई मधेशको प्रतिनिधित्व भन्दै ०४८ देखि नै चुनाव लडेका तथा चार पटक सांसद र मन्त्री भइसकेका आनन्द ढुंगानासम्मलाई उम्मेदवार बनाइएको छ ।

कांग्रेसले कोशीबाट सिटौला (अन्य), मधेशबाट ढुंगाना (अन्य), वाग्मतीबाट जितजंग बस्नेत (अन्य) र विष्णुदेवी पुडासैनी (महिला), गण्डकीबाट किरणबाबु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपांगता र अल्पसंख्यक), लुम्बिनीबाट विष्णुकुमारी सापकोटा (महिला), कर्णालीबाट कृष्णबहादुर रोकाय (अन्य) र सुदूरपश्चिमबाट बलदेव बोहोरा (अन्य) तथा नारायणदत्त भट्ट (अपांगता, अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ ।

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेरै सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याउन लागिएको एक कांग्रेस नेताको दाबी छ । संविधान जारीपछि भएको ०७४ र ०७९ मा भएका दुवै निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग झापा–३ बाट सिटौला पराजित भएका थिए ।

‘निर्वाचन आयोगले एउटा निर्वाचनबाट पराजित व्यक्ति सोही अवधि (पाँच वर्ष) अर्को निर्वाचनमा भाग लिन नपाउने कानुन प्रस्ताव गरेको छ । संविधानले पनि निर्वाचन हारेका व्यक्तिलाई पाँच वर्षको कार्यकालभर मन्त्री हुन निषेध गरेको छ भने सिटौलालाई उम्मेदवार हुन कुन नैतिकताले दिन्छ ?’ कांग्रेसका ती नेताले असन्तुष्टि पोखे ।

मधेशमा अन्य समूहबाट उम्मेदवार बनेका ढुंगाना कांग्रेसको अनुशासन समितिका संयोजक हुन् । उनी ०४८ यता चार पटक सांसद बनिसकेका छन । ढुंगाना ०४८, ०५१ र ०५६ मा प्रत्यक्ष र ०७० मा समानुपातिकबाट सांसद भएका थिए । उनी ०६४ र ०७४ को निर्वाचनमा पराजित भए । ०५५ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा आपूर्ति र वनमन्त्री भएका थिए । केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले उम्मेदवार छनोटमा एक पक्षीय र समावेशिताको संवैधानिक सिद्धान्त उल्लंघन भएको भन्दै फरक मत दर्ता गराएको बताए ।

कांग्रेसबाट टिकट पाउनेमा वाग्मतीमा बस्नेत तरुण दलका पूर्वअध्यक्ष हुन् भने पुडासैनी महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । गण्डकीबाट अन्य समूहको टिकट पाउने श्रेष्ठ पार्टीको प्रदेश कार्यसमिति महामन्त्री हुन् । उनी प्रदेशको समानुपातिक सूचीमा समेत परेका थिए । गण्डकी प्रदेशमा रिक्त अपांग/अल्पसंख्यक समूहबाट पदमबहादुर परियार उम्मेदवार भएका छन् । परियार पुराना कार्यकर्ता हुन् ।

लुम्बिनीबाट महिला उम्मेदवार सापकोटा ०७४ को स्थानीय तहको निर्वाचनमा गुल्मी मुसिकोट नगरपालिकाको उपमेयरमा पराजित नेतृ हुन् । प्रदेशको समानुपातिक सूचीमा समेत रहेकी उनी प्रदेश कार्यसमितिका सदस्यसमेत छिन् । सुदूरपश्चिममा अन्य समूहबाट उम्मेदवार बोहोरा देउवाका विश्वासपात्र हुन् । उनी जिल्ला विकास समितिमा पूर्वसभापति र ०७० मा समानुपातिकबाट सांसद भएका थिए ।

अपांगता कोटाबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट कैलाली जिल्ला कार्यसमितिका पार्टी सभापति हुन् । उनी ०६२/६३ को जनआन्दोलनका बेलामा घाइते भएका थिए । सुदूरपश्चिमका दुई जना उम्मेदवारमध्ये बोहोरा देउवा र भट्ट आरजुनिकट मानिन्छन् । कर्णालीबाट उम्मेदवार भएका रोकाय पार्टीका प्रदेश कार्यसमितिका महामन्त्री हुन् ।

उम्मेदवार छनोटमा समावेशितालाई ख्याल नगरी एकै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै कांग्रेसबाट चुनाव जितेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा मत नखसाल्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले मधेशी, तामाङ, गुरुङ, शेर्पा, राई, मगर ह्योल्मोलगायतका अल्पसंख्यकबाट एक जना पनि उम्मेदवार नबनाएकोमा मेरो असन्तुष्टि हो ।’

महामन्त्री गगन थापाले पार्टी राजनीतिमा नलागेका तर लोकतन्त्रवादी, बौद्धिक समुदाय र प्रतिनिधित्व नभएको वर्गबाट उम्मेदवार नबनाइएको भन्दै विरोध जनाएका छन् । उनले उम्मेदवार छनोटको निर्णयप्रतिको लिखित असहमति पार्टीमा दर्ता गराएका छन् । यसरी लिखित असहमति जनाउनेमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बलबहादुर केसी पनि छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले बैठकमै ६ बुँदे असहमति पेस गरेका थिए ।

कांग्रेसभित्र विवादित अर्का उम्मेदवार हुन्– ढुंगाना । धनुषाबाट प्रतिनिधित्व गर्ने भए पनि मधेशी अनुहारको प्रतिनिधित्व नभएको भन्दै पार्टीभित्र चर्को विरोध भएको छ । समानुपातिक निर्वाचनमा खसआर्यलाई प्राथमिकता दिँदा अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्वसमेत हुन सकेको छैन । राष्ट्रिय सभामा कांग्रेसले एक जना पनि मुस्लिम उम्मेदवार दिएन । आफ्ना नजिककालाई ल्याउन सभापतिले गठबन्धन दलबीच भागबन्डा हुँदा दलित क्लस्टर नलिएको भन्दै पार्टी बैठकमा विरोध भएको थियो ।

माओवादीले कोशीमा चम्पादेवी कार्की (महिला), वाग्मतीमा श्रीकृष्णप्रसाद अधिकारी (अपांगता), गण्डकीमा मनरूपा शर्मा सुवेदी (महिला), लुम्बिनीमा झक्कुप्रसाद सुवेदी (अन्य), कर्णालीमा विष्णुबहादुर विक (दलित) र सुदूरपश्चिममा रेणु चन्द (महिला) लाई उम्मेदवार बनाएको छ । ०६४ संविधानसभामा काठमाडौं–२ मा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गरेपछि सुवेदी चर्चामा आएका थिए ।

गण्डकीबाट उम्मेदवार बनेकी मनरूपा माओवादी सहिद विजय सुवेदीकी पत्नी हुन् । ०६४ को संविधानसभामा पर्वत–१ बाट उम्मेदवार भए पनि पराजित भएकी थिइन् । सुदूरपश्चिमबाट उम्मेदवार बनेकी चन्द केन्द्रीय सदस्य छिन् । उनले ०६४ मा बैतडी–२ बाट संविधानसभामा प्रतिनिधित्व गरेकी थिइन् । दोस्रो संविधानसभा ०७० मा त्यही क्षेत्रबाट उम्मेदवार भए पनि पराजित भएकी थिइन् । कोशीमा महिला समूहबाट उम्मेदवार भएकी कार्की र दलित समूहबाट उम्मेदवार भएका विक केन्द्रीय सदस्य हुन् ।

गत वर्षकै प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट पराजित दुर्गा पौडेललाई सत्ता गठबन्धनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गराएर राष्ट्रिय सभा सदस्य बनाउने तयारी गरेको छ । एकीकृत समाजवादीले घनश्याम रिजाल (दलित समूह) लाई वाग्मतीबाट र सावित्री मल्ल (महिला समूह) लाई कर्णालीबाट उम्मेदवार बनाएको छ । राष्ट्रिय पार्टी नभए पनि एसले गठबन्धनको साझेदारीमा दुई सिट पाएको छ, जबकि राष्ट्रिय पार्टी जनमतले एक सिट मात्र ।

यस्तै गठबन्धनको अर्को घटक जनता समाजवादीले पूजा चौधरी (महिला समूह) लाई उम्मेदवार बनाएको छ । उनी गत प्रदेशसभा निर्वाचनमा रौतहट–३ (क) बाट उम्मेदवार भएकी थिइन् । उनी जसपा केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।

सत्ता गठबन्धनले एक सिट पनि नदिएपछि जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशबाट छुट्टै उम्मेदवार उठाएको छ । जनमत प्रवक्ता चन्दन सिंहले गठबन्धनले एकलौटी गरेपछि मधेशबाट रामशंकर महासेठ र लुम्बिनीबाट बालगोविन्द चौधरीलाई उम्मेदवार बनाएको बताए ।

राष्ट्रिय सभा सदस्यमा दिइएको उम्मेदवारीलाई लिएर निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त एवं राजनीतिक विश्लेषक भोजराज पोखरेलले शक्ति हातमा लिएर बसेका केही दलका नेतृत्वले छविमा सुधार ल्याएको अवसर गुमाएको टिप्पणी गरे । ‘राष्ट्रिय सभा नेता–कार्यकर्ताको भर्ती केन्द्र होइन । प्रतिनिधिसभामा प्रतिनिधित्व गरेर आउन नसक्ने छुट्टै पहिचान, विशेषता र क्षमता भएका, मुलुक र संसार बुझेका, क्षेत्रीय र जातीय सन्तुलन भएकाहरूको सभा हो, राष्ट्रिय सभा । यही चरित्रअनुसार उम्मेदवार अघि सारिनुपर्थ्यो, तर दलहरूले त्यसो गरेनन् ।’

राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले अनुभवी, समाजमा प्रतिष्ठित र विभिन्न समुदायका व्यक्ति राष्ट्रिय सभा सदस्य हुने परिकल्पना भए पनि नेता व्यवस्थापन गर्ने ठाउँ बनेको बताए । ‘गठबन्धनका उम्मेदवार हेर्दा प्रमुख नेताले निकट व्यक्ति व्यवस्थापन गर्ने ठाउँ बनेको देखियो,’ उनले भने ।

कोशीमा एमालेको दाउ

प्रमुख प्रतिपक्षी एमालेले कोशी प्रदेशमा कांग्रेसको शेखर कोइराला समूहसँग वार्ता गर्ने भएको छ । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीलाई बहुमत पुर्‍याउन समर्थन गरेको एमालेले यस पटक आफ्नो उम्मेदवारलाई सघाउन आग्रह गर्ने एमालेका एक नेताले बताए । ‘हामीले कोशी मुख्यमन्त्री बनाउन सहयोग गर्‍यौं, राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई सघाउन वार्ताको तयारी छ,’ ती नेताले भने ।

एमालेले कोशीमा मजदुर नेता ओम कोइरालाको परिवारबाट रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट महिला समूहमा उम्मेदवार नभएकाले एमालेले शेखर पक्षसँग सहकार्यको प्रस्ताव गर्न लागेको हो । गठबन्धनबाट महिला समूहमा माओवादीकी चम्पा कार्कीको उम्मेदवारी परेको छ । सुनसरी इटहरीकी स्थायी बासिन्दा कोइरालाको निवास भूमिगत समयमा एमालेका नेताहरूको सेल्टर थियो ।

एमालेले अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरूनी (पर्सा), अन्यबाट कुमारी विजेता झा (महोत्तरी), वाग्मतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार बनाएको छ । अन्य उम्मेदवारमा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।