Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक




काठमाडौँ, २४ पौष । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।

सरकारले राष्ट्रिय विकास परिषद्‌मा सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी/व्यक्तिहरूमध्येबाट २५ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आजको मन्त्रिपरिषद् बैठकले यससँगै मुख्य चार निर्णय गरेको जानकारी दिइन् । बैठकले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको उनले बताइन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेस गरेको राजीनामा स्वीकृत गरेको छ । रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने र रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको उनले बताइन् ।  डेडिकेटेड र ट्रंक लाइनको महसुल सम्बन्धमा उठेका विषयहरूको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग समिति गठन भएको छ । उर्जा मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने निर्णय भएको छ । हाललाई उद्योगीहरूको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।