राजनीति

रास्वपामा स्वेच्छिक शुल्क तिरेर सदस्य बन्न पाइने



काठमाडौँ, २५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ ।

मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेकोमा अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न सकिने प्रबन्ध गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । त्यस्तै पार्टीको विभिन्न तहगत निकायका पदाधिकारी तथा सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने वार्षिक लेबी शुल्कलाई परिमार्जन गरिएको उनले बताए ।

‘पार्टीको विभिन्न तहका समिति, पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त प्रतिक्रिया, सुझावहरुलाई छलफल गर्दा, पार्टी सदस्यता शुल्क एक हजार रहेकोमा सदस्यता शुल्क बढी दिन इच्छुकले बढाएर दिन सक्ने र असमर्थ हुनेका हकमा घटाएर दिन सक्ने गरी गर्नुपर्ने भन्ने सुझावलाई मनन गरी सदस्यता त्यसमा थपेर वा घटाएर स्वेच्छिक सदस्यता शुल्क तिरेर पनि सदस्यता लिन सक्ने व्यवस्था गरियो,’ महामन्त्री ढकालले भने ।