राजनीति

कोरोना विरुद्धको करिब १२ लाख डोज खोप मौज्दात छ : स्वास्थ्य मन्त्रालय



काठमाडौँ, २५ पौष । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ ।

कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले रातोपाटीलाई बताए । सो खोप नलगाएका व्यक्तिले आफ्नो पायक पर्ने स्थानबाट खोप लगाउन समेत उनले अग्राह गरे । 

देशभर ९२ प्रतिशत सङ्ख्याले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८ प्रतिशत व्यक्तिले खोप लगाउन बाँकी छन् । नेपालमा नयाँ सब–भेरियन्ट जेएन. १ को पुष्टि भएसँगै खोप नलगाएका व्यक्तिलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट खोप नलगाएका व्यक्तिलाई खोप लगाएका व्यक्तिको तुलनामा बढी प्रभाव हुनसक्ने भएकाले खोप लगाउनुपर्ने बुढाथोकीले बताए । देशभर ५ वर्ष बढी उमेरकाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् ।