राजनीति

सभामुख घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता



काठमाडौँ, ११ माघ । सभामुख देवराज घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिला सम्बन्धि राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियारसम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धी अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले संयुक्त राष्ट्रसंघ, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निःशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्रसंघ कार्यालयले गरेका विश्वव्यापी निःशस्त्रीकरण प्रयासहरूको सराहना गरेका छन् ।  सो अवसरमा सभामुख घिमिरेले भने– ‘मलाई विश्वास छ कि एशिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजनासम्बन्धि चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ,’ सभामुखले भने– ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’

सभामुखले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको पुष्टि भएको सभामुखको भनाइ छ ।