राजनीति

माओवादीलाई कांग्रेस र राप्रपालाई एमालेको ‘धोका’



काठमाडौँ, १२ माघ । सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो । 

कोशीमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् । अर्कोतर्फ प्रतिपक्षी गठबन्धन एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल पराजित भए । कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादी चम्पादेवीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । प्रतिपक्षी गठबन्धनबाट राप्रपाका पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गर्दा एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भइन् ।

यो विजयसँगै सिटौलाले संसदीय र सत्ता यात्रामा पुनरागमन गरेका छन् । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–राप्रपा गठबन्धनबाट लगातार पराजित भएपछि उनको संसदीय यात्रामा अल्पविराम लागेको थियो । कोशीमा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत थियो । गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको मतभार जोड्दा एमालेभन्दा अगाडि थियो । त्यहाँ एमालेको मतभार ४ हजार २ सय ४८, कांग्रेसको ३ हजार ६ सय ८४, माओवादीको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५, जसपाको १ सय २९ थियो । सत्ता गठबन्धनको ५ हजार ४ सय ३६ मतभार थियो भने प्रतिपक्षी एमाले–राप्रपा गठबन्धनको ४ हजार ६ सय ४२ थियो । तर, पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गरे । यसलाई राप्रपाले ‘धोका’ को टिप्पणी गरेको छ ।

राप्रपासँग गठबन्धन गरेर एमालेले परशुराम अधिकारीको उम्मेदवारी निष्क्रिय गराएको थियो तर उनलाई एक प्रदेश सांसद र पाँच स्थानीय जनप्रतिनिधिले मत दिएका छन् । कोशीमा आफ्ना उम्मेदवार पराजित भएपछि माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कांग्रेसको एक समूहले अन्तर्घात गरेको प्रतिक्रिया दिए । मुख्यमन्त्री माओवादीलाई दिन नहुने लबिइङमा लागेको कांग्रेसको एक समूहले राष्ट्रिय सभा निर्वाचनमा पनि धोका दिएकाले प्रदेशमा गठबन्धनको औचित्य सकिएको उनको भनाइ छ ।

राष्ट्रिय सभा परिणामले सत्तारूढ गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको माओवादीलाई भने झस्काएको छ । सत्ता गठबन्धनको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति सदस्यसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेसलाई कतिसम्म विश्वास गर्ने भन्नेमा संशय पैदा भएको प्रतिक्रिया दिए । कोशीको मुख्यमन्त्रीदेखि अहिले राष्ट्रिय सभा निर्वाचनको परिणाम हेर्दा कांग्रेसमाथि संशय पैदा भएको र त्यसको हल निकाल्नुपर्ने उनको भनाइ छ । ‘संगठित रूपमा नै गठबन्धनविरुद्ध कांग्रेसबाट यस्तो व्यवहार देखिएको छ,’ उनले भने, ‘यसअघि मुख्यमन्त्री चयन गर्दा हाम्रो दलका नेता इन्द्र आङ्बोलाई बनाउने गरी गठबन्धनले निर्णय लियो । कांग्रेसको एउटा समूहले एमालेको समर्थन लिएर सरकार बनायो र पनि हामीले समर्थन गरिदियौं । अहिले कांग्रेसमा त्यही प्रवृत्ति दोहोरियो, आफ्ना उम्मेदवार जिताउने र हामीलाई हराउने गर्दा अविश्वास बढ्यो ।’

प्रतिपक्षी एमाले र राप्रपा गठबन्धनमा पनि धोका भएको भन्दै असन्तुष्टिको स्वर आएको छ । राप्रपाको भोट लिएर एमालेले आफ्ना उम्मेदवार रुक्मिणी कोइरालालाई जिताएको तर सोहीअनुसार आफ्ना उम्मेदवारलाई भोट नआएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ‘हामीले इमानदारीपूर्वक मतदान गर्‍यौं तर एमालेबाट सहमतिअनुरूपको भोट आउन सकेन । धोका भयो ,’ उनले भने ।

एमालेको जित अन्य राजनीतिक दलसँगको ‘मित्रवत् सहकार्य’ ले सम्भव भएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको प्रतिक्रिया छ । उनले आफ्नै भोट थोरै भएको राप्रपाले आफ्ना उम्मेदवार नजित्दा एमालेले राजनीतिक बेइमानी गरेको भन्न नहुने बताए । ‘हामीले जित्नुका पछाडिका कारण एमालेले अहिले कोशीमा अन्य दलहरूसँग गरेको मित्रवत् सहकार्य हो । सांसद र स्थानीय पालिकाका साथीहरूसँग सहकार्य गर्ने व्यक्तित्व उम्मेदवार बनाउनु र एमालेले राष्ट्रियस्तरमा लिएको नीति नै हाम्रो जितको मूल कारण हो,’ उनले भने, ‘एमालेले राप्रपालाई धोका दिएको होइन, इमानदारी देखाएको छ । ३ सय भोट भएकालाई त्यति मतभारसम्म पुर्‍याएको छ ।’ एमालेका केही मतदाताले आफ्नो उम्मेदवार नभएको सूर्य चुनाव चिह्नमा भोट हालेको विषयमा आन्तरिक रूपमा छलफल हुने खतिवडाको भनाइ छ । राप्रपा प्रवक्ता श्रेष्ठ भने एमालेले उम्मेदवारी दिने बेलादेखि नै ‘राजनीतिक बेइमानी’ को संकेत गरेको बताउँछन् ।

सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने माओवादी उम्मेदवार पराजित भएको विषयमा अध्ययन हुने बताए । यसअघिको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम स्मरण गर्दै उनले भने, ‘गठबन्धनको एउटा उम्मेदवार जित्दै गर्दा अर्को उम्मेदवार हारेको हो । दुई वर्षअघि पनि कोशीमा गठबन्धनको एउटा उम्मेदवार जितेको, एउटा हारेको र अर्को गोलाबाट जित्नुपर्ने अवस्था आयो । यस पटक करिब ८ सय मतले गठबन्धनको एउटा उम्मेदवार जित्दै गर्दा अनपेक्षित परिणाम आएको छ ।’ कोशीको निर्वाचन परिणामले माओवादीभित्र संशय पैदा हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘संगठित रूपमा लागेका हुन् या व्यक्तिगत रूपमा भएका गल्ती हुन् भन्ने अध्ययन गरी सत्यतथ्य खोजीका क्रममा छौं,’ उनले भने ।

कतिपय प्रदेशमा भने दुवै गठबन्धन एकढिक्का देखिन्छन् । मधेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगानाले ७ हजार ३ सय ७० मतभार प्राप्त गरेर विजयी भए भने जसपाकी पूजा चौधरीले ७ हजार ९ सय २३ मतभार ल्याइन् । मधेशका १ सय ३६ पालिकाको शतप्रतिशत मत आएको थियो भने प्रदेशसभाका १ सय ७ सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ । लोसपाका सांसद अभिराम शर्माले भने मत खसालेनन् । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीबाट कसुरदार ठहर सांसद शर्मा राष्ट्रिय सभाको चुनावमा मत दिन नगएका हुन् । निर्वाचन बिथोल्ने मनसायले प्रभु साहको आम जनता पार्टीले जनकपुर लक्षित प्रदर्शन गर्दा ६० भन्दा बढी कार्यकर्ता पक्राउ परे ।

वाग्मतीमा कांग्रेसकी विष्णुकुमारी पुडासैनीले ६ हजार ६ सय २२ मतभार प्राप्त गरेर विजयी भइन् । अपांगतर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारीले ६ हजार ३ सय ८३ मतभार प्राप्त गरे भने दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले ६ हजार ५ सय १२ मतभार पाए । अन्यतर्फ कांग्रेसकै जितजंग बस्नेतले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरे । काठमाडौंका मेयर बालेन्द्र शाहले मतदान गरेनन् । गण्डकीमा गठबन्धनबाट माओवादी उम्मेदवारले कम भोट पाएर विजयी भए । खुला र अपांगतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार निर्वाचित हुँदा महिलातर्फ माओवादीका मनरूपा शर्मा विजयी भइन् । यी तीन उम्मेदवारका मतदाता गठबन्धनका हिसाबले एउटै भए पनि सबैभन्दा कम भोट पाउने भने माओवादीकी शर्मा रहिन् । उनले ३ हजार ६ सय ६० मतभार पाइन् भने कांग्रेसका श्रेष्ठले ३ हजार ८ सय ८ र परियारले ३ हजार ७ सय ७४ मतभार पाए ।

गण्डकीमा कुल मतभार ६ हजार १ सय ४० थियो । यहाँ ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० मतदाता थिए । केही मत बदर भएको थियो भने केही मतदाताले ‘भोट क्रस’ गरेका थिए । कुल २ सय ३० मध्ये २ सय २९ जनाले मत खसाले । सहकारी ठगीमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानमा अनुपस्थित रहे । बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको झन्डै २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि छ । गण्डकीमा राष्ट्रिय सभाको रिक्त तीन क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ उम्मेदवार चुनावी मैदानमा थिए ।

लुम्बिनीमा भने सत्ता गठबन्धनका दुवै उम्मेदवारले समान मत प्राप्त गरेर विजयी भएका छन् । माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुदेवी सापकोटाले समान ५ हजार ४ सय ३५ मतभार प्राप्त गरे । लुम्बिनीमा प्रदेशसभा सदस्यतर्फ ८७ मतदाता रहेकामा शतप्रतिशत मत खसेको थियो । स्थानीयतर्फ २ सय १८ मतदातामध्ये २ सय १६ जनाले मत खसालेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । १ सय ६ मतभार बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रूपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय अनुपस्थित रहे ।

कर्णालीमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी भए । यहाँ माओवादीका विष्णु विकले ३ हजार ८ सय १७, एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ७ सय २२ र कांग्रेसका कृष्णबहादुर रोकायले ३ हजार ८ सय ७० मतभार प्राप्त गरे । कर्णालीका ७९ स्थानीय तहका कुल १ सय ५८ र प्रदेशसभाका ४० मतदातामध्ये १ सय ५६ जनाले मतदान गरेका थिए । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र जाजरकोटको नलगाड उपप्रमुख सरिता सिंहको निधन भएको थियो ।

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा माओवादीका रेनु चन्द विजयी भएका हुन् । यहाँ बोहराले ४ हजार ३ सय २८ मतभार प्राप्त गरेका थिए । भट्टले ४ हजार ४ सय १९ र चन्दले ४ हजार ४ सय ५३ मतभार प्राप्त गरे । यहाँ स्थानीय तहका १ सय ७६ मध्ये १ सय ७३ र प्रदेशसभाका ५२ जनाले मतदान गरे । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदान गरेनन् । बाजुराको स्वामीकार्तिककी उपाध्यक्ष मैना जोशीको हालै निधन भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।