राजनीति

राष्ट्रपति पौडेलसँग बेलायती सेनाका रथीसहितको भेट



काठमाडौँ, १२ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कर्णेल कमान्डेन्ट रिचार्ड वार्डलो ओबीईसहितको टोलीले शिष्टाचार भेट गरेको छ । 

राष्ट्रपति कार्यालयमा भएको शुक्रबारको भेटका क्रममा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताए । राष्ट्रपति पौडेलले शान्ति, स्थिरता र स्वतन्त्रताका सवालमा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताएको सचिवालयले जनाएको छ ।

पौडेलले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको भन्दै पूर्वब्रिटिस गोर्खाका गुनासो संयुक्त अधिराज्य बेलायतले उदारता र सद्भावकासाथ चाँडै सम्बोधन गर्ने विश्वास व्यक्त गरेका थिए । पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले मिलेर काम गर्नुपर्ने पनि बताए । बेलायती सेनाका रथी वार्डलोले भने गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले प्रतिवेदन पेस गर्दै गोरखाली सेनाको व्यवसायिकता, समर्पण र क्षामतालाई बेलायतले मात्र नभएर संसारले सम्मान र प्रशंसा गरेको बताएका छन् । 


बेलायती गोर्खाहरू यो संसार जबसम्म रहने तबसम्म संघीय लोकतान्त्रि गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरीरहने उनको भनाइ थियो । प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा बिग्रेड अफ गोर्खाजले विश्वलाई सुरक्षित स्थान बनाउन आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तर्राष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख गरिएको छ । भेटमा बेलायती राजदूत रोब फेन पनि उपस्थित थिए ।