अर्थ

सरकारले पुसमा आर्थिक सहायतास्वरुप २७ जनालाई दियो एक करोड १७ लाख 



काठमाडौँ, १२ माघ । सरकारले पुसमा २७ जनालाई आर्थिक सहायतास्वरुप एक करोड १७ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न समयमा गरेको निर्णयअनुसार उक्त रकम वितरण गरिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
 
सरकारले एक व्यक्तिलाई तीन लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म उपलब्ध गराएको छ । सरकारबाट १० लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गर्नेमा दैलेख नारायण नगरपालिका–७ का गणेशबहादुर खड्का, ललितपुर बालकुमारी घटनाका मृतकहरू अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवार छन् ।
 
आर्थिक सहायतास्वरुप सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराएकामा भोजपुरका पदमबहादुर राई, बर्दियाका खेमराज भट्ट मायालु, अर्घाखाँचीका हरिकला खनाल, रामेछापका सुशीला कुमारी गौतम र कैलालीका वीरेन्द्र जैशी रहेका छन् । 

सिन्धुपाल्चोकका लिलाध्वज स्वार, अर्घाखाँचीका बाबुराम अर्याल, बाजुराका रंगलाल जैशी, कञ्चनपुरका बलदेव बोहराले आर्थिकसहायता स्वरूप चार लाख रुपैयाँ प्राप्त गरेका छन् । सरकारबाट आर्थिक सहायता शीर्षकमा तीन लाख पाउनेमा काभ्रेपलाञ्चोकका भक्त राना मगर, बैतडीका भुवनराज भट्ट, बैतडीका वीरसिंह भण्डारी, सुर्खेतका ओमप्रकाश अधिकारी, बर्दियाका कान्ती चापागाईं, लम्जुङका रामचन्द्र विश्वकर्मा, दाङका महेश चौधरी, काभ्रेपलाञ्चोकका रामचन्द्र मैनाली, कालिकोटका परेकबहादुर साउद, बाराका विद्यानन्द ठाकुर र दार्चुलाका जयभनासिंह धामी छन् ।