राजनीति

फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने



काठमाडौँ, १२ माघ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते सडक आन्दोलनसहित काठमाडौँ महानगर घेराउ गर्ने भएको छ ।

शुक्रबार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएर १६ गते जनप्रदर्शनसहित महानगरमा धर्ना दिने जानकारी दिएको छ । सबै फुटपाथ व्यवसायीलाई भेला गरेर माघ २८ गते वृहत सडक आन्दोलन गर्ने जानकारी दिइएको छ । 

संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्न माघ १७ गते जिल्ला प्रशासन कार्यलय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालय र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । 


उनले काठमाडौँ महानगरपालिकाले फुटपाथ र साना व्यवसायीहरूको माग अहिलेसम्म सम्बोधन नगरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले महानगरले फुटपाथ व्यापारीहरूको जफथ गरेको सामान फिर्ता गर्न माग गरे ।