Banner News

प्रचण्डको असन्तुष्टिः कांग्रेसबाट निरन्तर घात



काठमाडौ १२ माघ । कोशीमा भएको फ्लोर क्रसको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।

गठबन्धनबाट फ्लोर क्रस भएपछि गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा गठबन्धनको तर्फबाट एमालेकी रुक्मिणी कोइरालाले जित निकालेपछि प्रचण्डले असन्तुष्टि जनाएका हुन् ।

फोनमा प्रचण्डले आफूहरू इमान्दार हुँदा पनि कांग्रेसबाट पटकपटक भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो ।प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने( शेखरले हो शेखरले ।
देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन् ।
प्रचण्डले असन्तुष्टि जनाउँदै थपे, ‘कोशीमा मात्रै होइन अरु प्रदेशमा पनि हामीले नेकपा एसबाट पूरै मत दिँदा भोट क्रस भएको छ । अन्त फरक धेरै भएकाले जित्न सकेनन् । यसअघि हामीलाई मुख्यमन्त्री दिने बेलामा पनि एमालेसँग मिलेर सरकार बनायो । अहिले पनि हाम्रो उम्मेदवारलाई हराएको सामान्य कुरा होइन यसलाई गम्भीररूपमा लिएको छु ।’

कांग्रेसबाट निरन्तर घात हुन थालेपछि प्रचण्डले गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार सत्ता हस्तान्तरणको बेलामा इमान्दार नहुनसक्ने चर्चा चल्न थालेको छ ।