Banner News

सरसफाईलाई जीवनको अभिन्न अंगको रुपमा लिनुपर्छ: मन्त्री यादव



ललितपुर, १३ माघ । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र राय यादवले मानिसको जीवन र समाजको वातावरण सुधारको लागि सरसफाई पहिलो आवश्यकता रहेको बताउनुभएको छ ।

ललितपुर चक्रपथ र मुख्य सडक सफाई तथा सुन्दरता अभियान २०७५ को ५औं वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सरसफाई जीवनको अभिन्न अंग जस्तै भएको उल्लेख गर्नुभयो । ‘जातीयताको आधारमा परापूर्वक कालमा कामको वर्गिकरण गरिएको थियो । तर आज त्यो अवस्था छैन । जातीयताको आधारमा कामको वर्गिकरण हैन, योग्यता र क्षमताको आधारमा कामको वर्गिकरण हुन्छ’, उहाँले भन्नुभयो, ‘सानो ठूलो हैन, मानवीय जीवन र जगको लागि सरसफाई हुनुपर्छ । सरसफाईलाई जीवनको अभिन्न अंगको रुपमा लिनुपर्छ ।’

सरकारले सरसफार्ई अभियान देशभर चलाउने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले मानिसमा चेतनाको विकास गर्नु अपरिहार्यता रहेको औंल्याउनुभयो । फोहोरले पर्यटकीय, वातावरणीय, अन्य विकासका कार्यहरुमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर परिरहेको उल्लेख गर्दै फोहोरको दिर्घकालिन समस्या समाधान गर्न तीनवटै तहका सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । फोहोर राजनीति गर्नु नहुने उल्लेख गर्दै उहाँले मानवीय संस्कारको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

माओवादी केन्द्रको उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुषालले सरसफाई अभियान देख्दा केहि पनि नदेखिने तर गर्दै जाँदा अथाह समस्या रहेको उल्लेख गर्नुभयो । सरकारले विकास र समृद्धिको यात्रामा धेरै कामहरु भए पनि केही भएको छैन भन्ने जस्ता कुराहरु जनताका माझमा प्रचार गरिनु दुःखद भएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम भने नभएको स्वीकार गर्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहले जनचाहना अनुसार धेरै कामहरु गरिरहेको उल्लेख गर्नुभयो । नगरपालिका क्षेत्रमा सरकारले निर्माण गर्ने दुई वटा ठूला फ्लाई ओभर र एक अण्डर पासमध्ये एउटा महानगरपालिकाले नै बजेट व्यवस्थापन गर्ने घोषणा समेत गर्नुभयो । जसको लागि केन्द्र सरकारले भूमिका खेल्न आग्रह गर्नुभयो । महानगर क्षेत्रमा भइरहेका आयोजनाहरु आफ्नो कार्यकालमा नै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको औंल्याउँदै उहाँले विकास निर्माणको कार्यलाई ढिलाई गर्नु नहुने धारणा राख्नुभयो । सफाई अभियानमा आफ्नो सदैव साथ र सहयोग रहेको प्रतिवद्धता जनाउँदै उहाँले निजी क्षेत्रबाट हाल भइरहेको सरसफाई अभियानकर्तालाई विशेष धन्यवाद प्रकट गर्नुभयो ।

वागमती प्रदेशका सांसद प्रेमभक्त महर्जनले जनतालाई निरासा हैन, आशा जगाउने कार्य गर्नु नेतृत्वको जिम्मेवारी भएको बताउनुभयो । सरसफाईलाई वातावरण प्रदुसण नियन्त्रणको लागि मात्र नभई अवका दिनमा उत्पादन र रोजगारसँग जोड्ने अभियान आवश्यकता रहेका उल्लेख गर्दै उहाँले फोहोरबाट मोहर, सुन्दर र सफा सहर निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । अभियानले पाँच वर्षमा ललितपुर चक्रथथ क्षेत्रको ७.९ किलोमिटर क्षेत्रफलबाट १७ सय टन फोहोर व्यवस्थापन गरेको आयोजकले बताएको छ । हप्तामा एक दिन दुई घण्टाका दरले हुने उक्त अभियानमा फोहोर व्यवस्थापनको सहजिकरण नेप्सेम्याकले गर्ने गरेको छ । लक्ष्मीप्रसाद गेलालको अध्यक्षतामा भएको कार्यक्रममा अभियानलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।