राजनीति

संघीयता सही ढंगले कार्यान्वयन गरेमा मुलुकको समृद्धि सम्भव : सभामुख घिमिरे



मकवानपुर, १३ माघ । संघीय संसद्का सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए । कोषले श्रमिकहरुको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए । उनले नागरिकको हक अधिकार र सेवा प्रवाहका विषयमा सही ढंगबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताए । सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न सके ऐन कानुनले काम गर्न नरोक्ने उनको भनाई छ । तीनै तहका सरकारले उचित योजनासहित नागरिकको पक्षमा काम गरेको खण्डमा समाजवाद निर्माणमा बलियो आधार तयार हुने सभामुख घिमिरेले बताए ।

उनले श्रमिक र पछाडि पारिएका आम नागरिकको हितका लागि ल्याइएको योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा राज्यका अंगहरु जिम्मेवार भएर अघि बढ्न उनले आग्रह गरे । कानुनको कर्तव्य बोध भएपनि विविध कारणहरुले रोजगारदाता संस्थाहरु कोषमा आबद्ध नभएको उनले बताए ।