राजनीति

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन : मन्त्री बस्नेत



काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।  

सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए । मन्त्री बस्नेतले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले भने,‘ मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् ।’

उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । उनले देशमा कामै नपाउने अवस्था रहेको बताए । उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए ।