Banner News

कोशी प्रदेशले दिन लागेको गाडी सुविधा प्रति शेखरको असन्तुष्टि



काठमाण्डौ, १६ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएको विषयमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध जनाएका छन् ।
विराटनगर ७ मा समुदायमा कांग्रेस अभियानको उद्घाटन गर्दै डा शेखरले अध्यादेश मार्फत पदाधिकारीको सङ्ख्या थप्दै गाडी सुविधा दिने प्रदेश सरकारको निर्णय प्रति असन्तुष्टि जनाएका हुन् ।
उनले गाडी सुविधा दिने उद्देश्यले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
‘देशमा आर्थिक सङ्कट छ । सङ्कटको बेला सुविधा घटाउनु पर्नेमा सुविधा बढाएकोमा ज्यादै पीडा भएको छ’, उनले भने, ‘अहिले संस्थानहरु बन्द गर्नु पर्छ भन्दै छौ । अर्को तिर सांसदहरुलाई सुविधा बढाउने कुरा नेपाली कांग्रेसका साथीहरूलाई पीडा बोध भएको मलाई लागि रहेको छ ।’
कोइरालाले मुलुक आर्थिक रूपमा सङ्कटमा रहेको बेला जनताका आधारभूत कुराहरूमा ध्यान दिनुपर्नेमा दलका नेतालाई खुसी पार्न विलासिताका बस्तुमा प्रदेश सरकारले गर्न लागेको लगानीको कुराले आफूलाई दुख लागेको बताए ।