अर्थ

मन्त्री किरातीद्वारा पशुपतिको हराएको जग्गा खोजी गर्न निर्देशन



काठमाडौँ, १६ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोष अन्तर्गत रहेको तर हराइरहेको जग्गाको खोजी गर्न कोषलाई निर्देशन दिएका छन् ।  

मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा बोल्दै मन्त्री किरातीले पशुपतिको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिँदै हराएको जग्गाको खोजी गर्न समेत निर्देशन दिएका हुन् ।

बैठकको एजेण्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किरातीले कोषको जग्गामा हैकम जमाएर व्यवशायीक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् । तत्काल कानुनी प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिशान घर खाली गराउन मन्त्री किरातीको निर्देशन अनुसार बोर्डले निर्णय गरेको छ । 

पशुपति क्षेत्र विकास कोषको काठमाडौँ महानगरपालिका वडा नम्बर ८ गाँचा पोखरीस्थित साबिक कित्ता नम्बर ९३, हालको कित्ता नं १०२,३३३,३३५,११०,४१९,३११,२८६,११२,११७,२८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर आलिसान घर बनाएर भोगचलन गर्दै आएका छन् । त्यस्तै वडा नं ३ भगवानस्थानमा साबिक कित्ता नं ५१बाट हालको कित्ता नं १४३,१४४,६५,२८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको पाइएको छ । त्यस्तै सिफलस्थित लामा पोखरी रहेको कित्ता नं १३५,१८०,८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएका छन् । यी जग्गामा रहेको संरचना हटाउनका लागि कानुनी प्रक्रिया पुरा गरी प्राविधिक मुल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ । 

बोर्डका सदस्य समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्राविधिक मुल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन् ।