राजनीति

सिटमा ‘रातो स्टिकर’ टाँसेर उड्छ निगमको जहाज



काठमाडौँ, १७ माघ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज (सगरमाथा) मा भएका १ सय ५८ सिटमध्ये इकोनोमी श्रेणीको एउटा सिट भाँचिएको दुई साता बित्दै छ । यात्रु बस्नै नमिल्ने गरी भाँचिएको सिट खाली राखेर जहाजले हङकङ, दोहा, क्वालालम्पुर, बैंङलुरु र मुम्बई उडान गर्दै आएको छ । विमानले सिट खाली छाडेर हरेक दिन ओहोरदोहोर गरी चारवटा उडान गरिरहेको छ । 

निगमको वाणिज्य विभागका अनुसार दुईतर्फी चारवटा उडानमा एउटा सिट खाली रहँदा दैनिक औसत १ लाख रुपैयाँ गुम्छ, जब कि सिट मर्मतमा बढीमा १ लाख रुपैयाँ खर्च हुन्छ । यो हिसाबले १४ दिनमा निगमले १४ लाख रुपैयाँको नोक्सानी व्यहोरिसकेको छ । तर, सिट मर्मतमा निगम व्यवस्थापनको ध्यान भने पुगेकै छैन । स्रोतका अनुसार सिट बनाउनका लागि सामान झिकाउन प्रक्रिया नै सुरु गरिएको छैन । ‘यसबारे जानकारी नै आएको छैन,’ निगम मुख्यालयका एक उपनिर्देशकले भने, ‘के भएको रहेछ भोलि बुझ्छु ।’

स्रोतका अनुसार सिट मर्मतका लागि अनौपचारिक रूपमा अन्तर्राष्ट्रिय एमआरओ (जहाज मर्मत गर्ने कम्पनी) सँग कोटेसन मागिएको छ । तर, सामान कहिले आउँछ भन्ने टुंगो छैन । ‘हामी लागिरहेका छौं । यसको सामान पाउनै मुस्किल रहेछ । अझैसम्म यकिन भइसकेको छैन । अमेरिका र बेलायतबाट झिकाउनुपर्छ । सामान नपाइए सिट नै बदल्नु पर्ला,’ निगमका एक अधिकारीले भने ।

भाँचिएको सिटमा यात्रु नबसुन् भनेर रातो रंगको स्टिकर टाँसिएको छ । यात्रुहरूले भाँचिएको सिटका बारेमा जिज्ञासा राख्दा ‘चाँडै बन्छ’ भन्ने जवाफ दिने गरेको तर कतिपय यात्रुले उक्त सिटका बारेमा व्यंग्य गर्ने गरेको निगमकी एक परिचारिकाले बताइन् । ‘भाँचिएको सिट छेउमै त्यो पनि रातो रंगको देखिएपछि कतिपय यात्रु डराउँदा रहेछन्,’ उक्त विमानमा उडेकी एक परिचारिकाले भनिन्, ‘कतिपय यात्रुले बुझ्दैनन् । हाम्रा एयरहोस्टेस बैनीलाई एउटा सिट पनि बनाउन नसक्ने ? कस्तो निगम ? भन्छन् ।’

निगमको इन्जिनियरिङ विभागले सिट भाँचिएको जानकारी सबै संयन्त्रलाई गराइसके पनि कतिपय गन्तव्यका लागि भने जहाजको सबै सिटको बुकिङ हुने गरेको छ । स्टिकर टाँसेको सिटमा बस्न नमिल्ने भएकाले निगमले यात्रुलाई अफलोड समेत गर्ने गरेको छ । यो सिटमा बस्न नमिल्ने भएपछि गत शुक्रबार बैंककमा यात्रु र निगमका कर्मचारीबीच विमानस्थलमा वादविवाद भएको थियो ।

घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, एक बिरामी यात्रुलाई बैंकक स्टेसनमा रहेका निगमका प्रमुखले अफलोड गरिदिएका थिए । ‘त्यो उडानमा निगमका कर्मचारीका परिवारलाई राखेर एक नेपाली बिरामी यात्रुलाई सिट छैन भनेर निकालियो,’ नाम खुलाउन नचाहने ती यात्रुले भने, ‘१ सय २६ जनाको नेपाली समूह लिएर गएको ट्राभल एजेन्सीका सञ्चालकले त्यहीबाट निगमको काठमाडौं मुख्यालयमा फोन गर्दा पनि सुनुवाइ भएन ।’

निगमको अर्को स्रोतका अनुसार, बुधबार मलेसियाको राजधानी क्वालालम्पुरबाट फर्किने उडानमा पनि दुई सिट बढी बुकिङ भएको छ । यीमध्ये एक जनाले भाँचिएको सिटमा बस्न नमिल्ने कारणले नेपाल आउन पाउने छैनन् । निगमका इन्जिनियरहरूले काठमाडौंमा जहाज अवतरण भइसकेपछि जाँच्ने क्रममा माघ ४ मा न्यारोबडीको १०–‘ए’ सिट भाँचिएको अवस्थामा फेला पारेका थिए । अन्तर्राष्ट्रिय नियमले भाँचिएको सिटमा यात्रु राख्न निषेध गरेको छ । उड्डयन नियम अनुसार, त्यो सिटमा यात्रु राखेको थाहा पाए नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले पाइलट र इन्जिनियरलाई कारबाही (ग्राउन्डेड) समेत गर्न सक्छ । जहाजको उडान तथा हवाई सुरक्षामा बाधा नपर्ने भएकाले जहाज नै ग्राउन्डेड भने हुँदैन ।

प्राधिकरणले सिट भाँचिएको कारण देखाएर उक्त न्यारोबडीलाई न्यूनतम यन्त्रको सूची (मिनिमम इक्युभमेन्ट लिस्ट) का आधारमा उड्न ‘डी’ श्रेणीको एमईएल जारी गरेको छ । यो नियम अनुसार, अधिकतम १ सय २० दिनभित्र सिट बनाइसक्नुपर्छ । भाँचिएको सिटसहित निगमको जहाजले उडान गरेको यो पहिलो घटना भने होइन ।

गत वर्ष कात्तिकमा अर्को न्यारोबडी (लुम्बिनी) को भाँचिएको सिट आल्मुनियम तारले बाँधेर उडाइएको पाइएको थियो । पछि ०७९ पुसमा इटालीको गिभन कम्पनीबाट सामान झिकाएर सिट मर्मत गरिएको थियो । करिब ५० हजार रुपैयाँमा मर्मत हुने सिट दुई महिनासम्म नबनाउँदा निगमले त्यतिबेला करिब ९० लाख रुपैयाँ बराबरको आम्दानी गुमाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ  ।