राजनीति

सरकारले आमसञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : मन्त्री शर्मा



काठमाडौँ, १७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनः संरचना गर्ने प्रयास गरिरहेको बताएकी छन् ।

आज नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवमा मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधिसभाको विषयगत समितिमा छलफल भइरहेको बताइन । 

मन्त्री शर्माले आमसञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको जानकारी दिइन् ।  समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक तयार गरिएको मन्त्री शर्माको भनाइ छ । 

आमसञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएको मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिजिनको पहुँच विस्तार गर्न कठिन हुने बताइन् । उनले नेपाल टेलिभिजनले डिजिटलाइजेसनलाई अझै बढाउन आवश्यक रहेकोमा जोड दिइन् । मुलुकको अधिकतम क्षेत्रका जनतासमक्ष सेवा पुर्याउन उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा पनि ध्यान दिन जरुरी रहेको बताइन् ।