अर्थ

बैंकिङ प्रणालीबाट थप ३० अर्ब तरलता तान्दै केन्द्रीय बैंक



काठमाडौँ, १७ माघ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तरलता प्रशोधन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले मंगलबार निक्षेप सङ्कलन उपकरणमार्फत २० अर्ब रुपैयाँ तरलता तानेको थियो । थप बुधबार बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

७ दिनका लागि निक्षेप लिन लागेको बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ । पछिल्लो समय बैंकहरुको निक्षेप तीब्र बढेको तर सो अनुसार कर्जा माग नबढेपछि बैंकहरुसँग तरलता (लगानी योग्य रकम) थुप्रिन पुगेको छ । केन्द्रीय बैंकका अनुसार माघ १४ गतेसम्ममा बैंकहरुको निक्षेपको आकार बढेर ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा जम्मा ५० खर्ब ८१ अर्ब रुपैयाँ मात्र हुन सकेको छ ।