राजनीति

काभ्रेमा ‘समुदायमा कांग्रेस’ अभियान सुरु



काभ्रे, १७ माघ । काभ्रेमा नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।

नेपाली कांग्रेस काभ्रेले जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न समुदायमा कांग्रेस अभियान लिएर गाउँ पस्ने भएको हो । 

केन्द्रीय समितिले तय गरेको अभियानको लागि नेपाली कांग्रेस काभ्रेले सबै वडामा प्रतिनिधि समेत तोकेर काभ्रेको गाउँ बस्ती र टोल जाने भएको हो । अभियानका लागि काभ्रेमा केन्द्रीय प्रतिनिधिको रूपमा केन्द्रीय सदस्य नानु बास्तोलालाई खटाइएको छ । केन्द्रीय सदस्य बास्तोलाले तीन वटै तहका जनप्रतिनिधिबारे जनताको अपेक्षा, गुनासो र सुझाव लिनको लागि कांग्रेसले अभियान चलाएको बताइन् । जनताका असीमित आवश्यकता सीमित श्रोतका कारण सम्बोधन हुन नसकेको भन्दै जनताको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताइन् ।