Banner News

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : अध्यक्ष ओली



काठमाडौँ, १७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । 

आज सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । 

अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको उनले बताए । उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए ।

उनले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदि गम्भीर भएन भने देश बरबाद हुन्छ ।’