विश्व

संसार बदल्ने फेसबुकका २० वर्ष, अबको २० वर्षमा के होला ?



बीबीसी, १८ माघ । सामाजिक सञ्जाल फेसबुकको जन्म भएको २० वर्ष भएको छ । मार्क जुकरबर्गले केही साथीसँग मिलेर फेसबुक सञ्चालनमा ल्याएका थिए । सुरुमा यसको नाम ‘द फेसबुक’ थियो ।

सञ्चालनमा आएको २० वर्षमा फेसबुक सबैभन्दा लोकप्रिय ‘सामाजिक सञ्जाल’ प्लेटफर्म बनेको छ । यसबीचमा फेसबुकको दर्जनौँपटक ‘रिडिजाइन’ भएको छ ।

सुरुदेखि हालसम्म फेसबुकको उद्देश्य एउटै छ– मानिसहरूलाई अनलाइनमार्फत एकआपसमा मिलाउने । विश्वका मानिसहरूबीच सम्पर्क स्थापित गर्ने र विज्ञापनमार्फत धन आर्जन गर्ने । 

फेसबुक नचलाउने विश्वमा कमै छन् । पछिल्लो २० वर्षको अवधिमा फेसबुकका कारण विश्वमा धेरै परिवर्तन आएको छ ।

१) फेसबुकले बदल्यो सोसल मिडियाको खेल

फेसबुक आउनुअघि ‘माइस्पेस’ जस्ता सामाजिक सञ्जाल प्रयोगमा थिए । सन् २००४ मा मार्क जुकरबर्गको सामाजिक सञ्जाल फेसबुक सञ्चालनमा ल्याए । सञ्चालन आएलगत्तै यसले गति समात्यो । र, देखायो सामाजिक सञ्जालले कस्तो दबदबा बनाउन सक्छ । 

सञ्चालनको एक वर्ष नपुग्दै फेसबुक प्रयोगकर्ताको संख्या १० लाख पुगेको थियो । चार वर्षमा यसले ‘माइस्पेस’लाई पछाडि पारिसकेको थियो । यो सफलता दिलाउन फेसबुकका केही खास खुबीले काम गरेका थिए । यसमध्ये एउटा थियो फोटोमा ‘ट्याग’ गर्न मिल्ने सुविधा ।

राति बाहिर निस्कँदा डिजिटल क्यामरा साथमा राख्नु, तस्बिर खिच्नु र फेसबुकमा राखी आफ्ना साथीहरूलाई ट्याग गर्नु सन् २००० को दशकको अन्तिम वर्षहरूमा टिनएजर्सको दैनिकीजस्तै थियो । 

सन् २०१२ सम्म आइपुग्दा फेसबुक प्रयोगकर्ताको संख्या एक अर्ब नाघिसकेको थियो । सन् २०२१ को अन्ततिर पहिलोपटक फेसबुकको सक्रिय प्रयोगकर्ताको संख्या १.९२ अर्बमा झरेको थियो । यसलाई बिर्सने हो भने बाँकी समय फेसबुकका प्रयोगकर्ता लगातार बढी नै रहेका छन् । 

जुन देश ‘कनेक्टिभिटी’को मामिलामा पछि परेका थिए, फेसबुकले त्यहाँ निःशुल्क इन्टरनेटको प्रस्ताव गरेको थियो । यसैकारण पनि फेसबुक आफ्नो प्रयोगकर्ताको संख्या निरन्तर बढाउन सफल भएको देखिन्छ ।

सन् २०२३ को अन्तमा फेसबुकले दिएको जानकारी अनुसार, यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता छन् । यी प्रयोगकर्ताले हरेक दिन फेसबुक चलाउँछन् ।

यसका बाबजुद पनि एउटा सत्य के हो भने फेसबुक पहिलेजस्तो अहिले युवाहरूबीच लोकप्रिय छैन । तर, पनि फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो र यसमा हुने अनलाइन क्रियाकलापले नयाँ युगको ढोका खोलेको छ ।

केही मानिस फेसबुक तथा यससँग प्रतिस्पर्धा गरिरहेका अन्य सामाजिक सञ्जाललाई कनेक्टिभिटी मजबुत बनाउने औजारको रूपमा व्याख्या गर्छन् । केही भने यसलाई ‘लत’ भन्ने गरेका छन् । यो लत विध्वंसको एजेन्ट भएको उनीहरूको धारणा छ ।

२) व्यक्तिगत डेटालाई मूल्यवान बनायो, तर गोपनीयतामा हस्तक्षेप

फेसबुकले हामीलाई मन पर्ने र मन नपर्ने जानकारी संकलन गर्नु निकै फाइदाजनक रहेको प्रमाणित गरेको छ । आजकाल फेसबुकको मूल कम्पनी ‘मेटा’ विज्ञापन संसारको राजा बनेको छ । मेटा र गुगलजस्ता कम्पनीहरूले विश्वव्यापी रूपमा विज्ञापनमा खर्च हुने पैसाको सबैभन्दा ठूलो हिस्सा प्राप्त गर्छन् ।

मेटाले सन् २०२३ को तेस्रो त्रैमासिकमा ३४ अर्ब डलर आम्दानी गरेको बताएको छ । यसमा नाफाको अंश ११ अर्ब ५० करोड डलर छ । अधिकांश आम्दानीलक्षित विज्ञापन सेवाहरूमार्फत भएको थियो । 

यही अवधिमा फेसबुकले ‘डेटा संकलन’ गरी कसरी दुरुपयोग गर्न सकिन्छ भन्ने पनि देखाएको छ । मेटालाई व्यक्तिगत डेटा दुरुपयोग गरेको आरोपमा कयौँपटक जरिवाना गरिएको छ ।

यीमध्ये सन् २०१४ को ‘क्याम्ब्रिज एनालिटिका स्क्यान्डल’ले सबैभन्दा धेरै सार्वजनिक चर्चा बटुलेको थियो । फेसबुक यस स्क्यान्डल सुल्झाउन ७२ करोड डलरभन्दा बढी रकम तिर्न सहमत भएको थियो ।

सन् २०२२ मा फेसबुकले ईयूले लगाएको २६ करोड ५० लाख युरो जरिवाना तिरेको थियो । यो जरिवाना फेसबुकको साइटबाट व्यक्तिगत डेटा निकालेको कारण भराइएको थियो । 

गत वर्ष आयरिस डेटा संरक्षण आयोगले मेटा कम्पनीमाथि १.२ बिलियन युरो जरिवाना लगाएको थियो । यो जरिवाना युरोपेली प्रयोगकर्ताहरूको डेटा क्षेत्राधिकार बाहिर स्थानान्तरण गरेको कारण लगाइएको थियो । फेसबुकले जरिवानाविरुद्ध अपिल गरेको छ ।

३) फेसबुकले इन्टरनेटलाई राजनीतिकरण गर्‍यो !

फेसबुकले विज्ञापनलाई लक्षित समूहसम्म पुर्‍याउने सुविधा प्रदान गर्दछ । यसकारण फेसबुक विश्वभर चुनाव प्रचारको लागि एक प्रमुख प्लेटफर्म बनेको छ ।

उदाहरणका लागि सन् २०२० मा जब अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पाँच महिना मात्र बाँकी थियो, तब तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले फेसबुकको विज्ञापनमा चार अर्ब डलरभन्दा बढी खर्च गरेको थियो । यो तथ्यांक स्टेटिस्टा रिसर्चले सार्वजनिक गरेको थियो ।

तल्लो तहमा हुने राजनीतिलाई परिवर्तन गर्न पनि फेसबुकले महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले समूहहरूलाई एकै ठाउँमा आउन, अभियानहरू चलाउन र विश्वव्यापी योजना बनाउन स्वीकृति दिने गरेको छ ।

अरब क्रान्तिको समयमा फेसबुक र ट्विटरले विरोध प्रदर्शनहरू व्यवस्थित गर्न र समाचारहरू फैलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर, केही नतिजाका कारण फेसबुकको राजनीतिक प्रयोगका सवालमा आलोचना पनि भइरहेको छ । मानव अधिकारमा परेको असर यसमा समावेश छ ।

सन् २०१८ मा फेसबुकले संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा सहमति जनाएको थियो । उक्त प्रतिवेदनमा म्यानमारमा रोहिंग्याविरुद्ध हिंसा भड्काउने क्रममा प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्म प्रयोग गर्नबाट रोक्न फेसबुक असफल भएको उल्लेख गरिएको थियो । 

४) फेसबुकमार्फत मेटाले प्रभुत्व जमायो

फेसबुकको ठूलो सफलतामार्फत मार्क जुकरबर्गले सामाजिक सञ्जाल बनाए र प्राविधिक साम्राज्य खडा गरे । प्रयोगकर्ताको संख्या र यसको माध्यमबाट मेटालाई प्राप्त शक्ति अतुलनीय छ ।

फेसबुकले ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलसजस्ता उदीयमान कम्पनीहरू किन्यो । यसलाई फेसबुकअन्तर्गत ल्याई सन् २०२२ मा कम्पनीको नाम परिवर्तन गरी मेटा राखिएको थियो । आज हरेक दिन तीन अर्बभन्दा बढीले आफ्ना कुनै न कुनै उत्पादनको प्रयोग गर्ने दाबी मेटाको छ ।

मेटा जब आफ्नो प्रतिस्पर्धीको कम्पनी किन्न असमर्थ हुन्छ, तब उसले उनीहरूमाथि आफ्नो नक्कल गरेको आरोप लगाउँछ । यसको उदेश्य एउटै छ– आफ्नो वर्चस्व कायम राख्नु ।

फेसबुक र इन्स्टाग्रामको ‘डिसपियरिङ स्टोरिज’ फिचर स्न्यापच्याटको महत्त्वपूर्ण फिचरसँग मिल्दोजुल्दो छ । टिकटकलाई चुनौती दिन मेटाले इन्स्टाग्राम रिल्स भिडियो सेयरिङ एप ल्याएको थियो ।

अबको २० वर्षमा के होला

फेसबुकको उदय र यसलाई निरन्तर प्रभावकारी बनाइराख्न सक्नुले मार्क जुकरबर्गको क्षमता दर्शाउँछ । तर, आगामी २० वर्षसम्म यसलाई सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्मको रूपमा कायम राख्नु भने जुकरबर्गका लागि सबैभन्दा ठूलो चुनौती हुने छ ।

मेटा पछिल्ला दिन मेटाभर्स आइडियाको वरिपरि रही व्यापार गर्न कडा प्रयास गरिरहेको छ । एप्पल जस्ता प्रतिस्पर्धीहरू भन्दा अगाडि बढ्ने प्रयास मेटा गर्दै छ । मेटाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’लाई पनि उच्च प्राथमिकतामा राखेको छ । यी सबैका कारण आगामी दिन फेसबुकले कस्तो रूप लिन्छ र कति प्रभावकारी बन्छ भन्ने हेर्न बाँकी नै छ ।