समाचार

६ महिनामा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने ४० हजार चालक कारबाहीमा



काठमाडौँ, १८ माघ । ६ महिनाको अवधिमा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने झण्डै ४० हजार चालक कारबाहीमा परेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ६ महिनामा जाँडरक्सी खाएर गाडी चलाउने ३९ हजार दुई ७२ जना चालक कारबाहीमा परेका हुन् ।

यस्तै लागु पदार्थ प्रयोग गरी गाडी चलाउने दुई सय ४२ जना चालक पनि कारबाहीमा परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कमा सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा १८ हजार ६ सय २७ जना चालक कारबाहीमा परेका छन् ।

कारबाहीबाट देशभरबाट चार करोड रुपैयाँ राजश्व सङ्कलन भएकोमा काठमाण्डौ उपत्यकामा मात्रै  १ करोड ८६ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रहरीको भनाइ छ । गाडी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना कम गर्न जाँडरक्सी खाएको र लागु पदार्थ प्रयोग गरे नगरेको जाँचलाई प्राथमिकता दिँदै आएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।