राजनीति

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय



काठमाडौँ, १८ माघ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय भएको बताइन् ।

उनकाअनुसार सरकारले नेपाल वायुसेवा निगम ऐन, २०१९ दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई नियुक्त गरेको छ । सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोक निवासी लेखनाथ लामा र काठमाडौं निवासी डा.सहारा श्रेष्ठलाई मनोनयन गरेको छ ।