समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु



तनहुँ, २० माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६, कुम्लेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्लेमा बस्दै आएका २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका निम्ति शुक्लागण्डकी–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । रासस